काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिले बढेको भन्दै हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको नम्बर १ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ शो प्रशारण शुक्रबार र शनिबार शोको नकआउट चरणका भागहरु प्रशारण नहुने आयोजकले जनाएको छ । ‘दि भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमा लेखिएको छ–‘कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई पहिलो प्राथमिकता दिदै, हामी जो जहाँ छौ त्यही नै सेल्फ आइसोलेसनमा छांै । यो साता कुनै पनि छायाङ्कन र कार्यक्रम निर्माण गर्न सक्षम हुन सकेनौं ।’
आयोजकले नयाँ भाग प्रशारण गर्न नसकेको दर्शकसँग क्षमा समेत मागेको छ । साथै, परिस्थिती अनुकुल भए अर्को सातादेखि शो नियमित प्रशारण गर्ने आयोजकले जनाएको छ । ‘दि भ्वाइस अफ नेपाल ३’को १८ भाग प्रशारण भैसकेको छ । यो शो हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको छ ।