– वर्षा पोखरेल
समाज गति र परिवर्तनशील छ । मानव सभ्याताको विकास पनि हो समाज । समाजलाई आर्थिक तथा सामाजिक विकासमा रुपान्तरण गर्न सकेमात्र मुलुकको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्न सक्दछ । यसका लागि महिला र पुरुषको समान दायित्व हुन्छ । त्यसैले त भन्ने गरिन्छ, महिला र पुरुषलाई रथका दुई पाङ्ग्रा । यो साश्वत सत्य पनि हो । महिला र पुरुष विनाको विकास कल्पना गर्न सकिन्न ।
मानव जातिको उत्पति र विकाससँग जोडिएका आ–आफ्नै जिम्मेवारी छन् महिला र पुरुषका बीच । घरभित्रका व्यवहारिक जिम्मेवारी महिला र घर बाहिरको व्यवहारिक जिम्मेवारी सदियौंदेखि चलिआएको छ । यसमा केही वैज्ञानिक र तथ्यसङ्गत आधारहरु नभएका पनि होइनन् । आवश्यकताले विकासको ढोका खोल्छ भनेजस्तै महिलाहरु पनि घरभित्रको व्यवहारिक जिम्मेवारीलाई पूरा गर्दै समाज रुपमान्तरणको अभियानमा पुरुषसँग हातेमालो गर्दै अगाडि बढ्द थालेका छन् । हिजो चुलो चौकोमा सीमित हुने महिलाहरु आज आफुलाई समाज रुपान्तरणको अभियानमा अग्रसर हुनु समाज विकासको एउटा चरण पनि भन्न सकिन्छ । महिलाहरु आज नेतृत्वदायी भूमिकामा पुगिसकेका छन् । धेरै थोरै किन नहोस् अहिले समाज रुपान्तरणका हरेक क्षेत्रमा महिला सहभागिता देख्न सकिन्छ । यो सुखद् पक्ष हो । महिलाहरु आर्थिक रुपमा पनि सबल र सक्षम हुँदै जाँदा समाज रुपान्तरणका निम्ति पनि सहज हुने गरेका कयौं उदाहरणहरु छन् ।
राज्यले पनि समावेशी र महिला सहभागितालाई उच्च प्राथमिकता दिंदै आएको छ । संविधानत ३३ प्रतिशत भनिएता पनि त्यो सहभागिता हुन भने सकेको छैन । तर यसले महिला सहभागिताको निम्ति ढोका खोलिदिएको छ । महिलाहरुलाई आफ्नो कार्य क्षेत्रमा काम गर्न भने अझै सहज छैन । कार्यक्षेत्रमा पनि विभिन्न किसिमका हिंसाबाट प्रताडित भैरहेको अवस्था छ । जबसम्म महिला पुरुष समान हुन् र केबल सिम्बोलिक रुपमा मात्र फरह हौं भन्ने सोचको विकास हुन सक्दैन तबसम्म समाज रुपान्तरणमा यसले ठेस पुर्याएकै हुन्छ । समाज विकासका निम्ति सहभागिताका क्रममा हत्या, हिंसा र बलात्कार जन्य अपराधहरु घट्न जाँदा त्यसको प्रत्यक्ष र परोक्ष रुपमा समाजलाई प्रतिकुल प्रभाव पारेको हुन्छ । त्यसैले महिला पुरुषबीच जुन असमानताको खाडल छ, त्यो सोच नै परिवर्तन आवश्यक छ ।
लैङ्गिक हिंसाका कारण समाज विकासको गति अपेक्षाकृत रुपमा अगाडि बढ्न सकेको छैन । लैङगिक असमानका विरुद्ध ऐन, कानुन त बनेका छन्, तर कार्यन्वयन पक्षमा महिलाहरुको पहुँच र समान सहभागिता नहुँदा समाज अझै पछाडि छ । लैङ्गिक हिंसालाई हिंसामुक्त बनाउन जे जस्ता औपचारिक, अनौपचारिक नीति तथा कार्यक्रम सञ्चालन गरेता पनि महिला हिंसाको अन्त्य प्रत्येक घर र समाजबाट हुने सकेमात्र त्यसको प्रभावकारिता हुन जानेछ । समाज परिवर्तन गर्न, समाजलाई रुपान्तरण गर्न पहिला आफैंबाट परिवर्तन र रुपान्तरण हुन पर्दछ ।
यस अर्थमा श्रीमानले श्रीमतीलाई, सासुले बुहारीलाई, बुहारीले सासुलाई, नन्द–अमाजुले भाउजु–बुहारीलाई गरिने घरेलु हिंसाले आफु र परिवारलाई नै कमजोर बनाउँछ भन्ने सोच र चिन्तनको विकास हुनु अपरिहार्य छ । परिवार कमजोर हुँदा समाज कमजोर हुन्छ, समाज कमजोर हुँदा राज्य कमजोेर हुन्छ । समुन्नत घर, समुन्नत समाज र समुन्नत राष्ट्रका निम्ति हिंसालाई निरुत्साहित गर्नु पर्दछ । मुलुकको विकासका लागि हिंसामुक्त समाज अपरिहार्य छ ।
लेखकः सामाजिक अभियन्ता र प्राध्यापन पेशमा सम्लग्न हुनुहुन्छ ।