हेटौंडा– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्यको लागि भएको उप–निर्वाचनमा पराजित हुनुभएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिष्ठा जोडिएको बाग्मती प्रदेश राष्ट्रियसभा उप–निर्वाचनमा आधिकारिक उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित हुनुभएको हो ।

राष्ट्रियसभा सदस्यका लागि नवनिर्वाचित सदस्य डा. देवकोटाको पक्षमा विपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्टपक्षसँगै बादललाई समर्थन गर्ने औपचारिक निर्णय लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्यहरु समेत उभिएका थिए । विवेकशील साझा पार्टीले उप–निर्वाचन बहिस्कार गरेको थियो ।

डा. खिमलाल देवकोटाले ५ हजार ८८ मत प्राप्त गर्नु भएर विजयी हुनुभएको हो । उहाँसँग पराजित भएका एमालेका उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा बादलको पक्षमा ४ हजार ४१ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

सर्वोच्च अदालतले आज गरेको फैैसलाअनुसार नवप्रवेशी एमाले नेता रामबहादुर थापा बादललगायत पूर्वमाओवादी केन्द्रका नेता तथा वर्तमान मन्त्रिपरिषद् ७ जना मन्त्रीहरु गैह्र सांसद भएकै कारण मन्त्री पद समेत खोसिएको छ ।