सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो । अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकोमा अब ‘मिडवेस्ट युनिभर्सिटी’ भएको छ । शिक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको ऐन–२०७७ (तेस्रो संशोधन) अनुसार मध्यपश्चिम विश्वविद्यालय ऐन–२०६७ संशोधन गरी नाम परिवर्तन गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले सम्बन्धित विश्वविद्यालयसँग सामान्य समन्वय र परामर्शबिनै नाम परिवर्तन गरिँदा आश्चर्य लागेको बताउनुभयो ।
‘नाम परिवर्तन अहिलेको हाम्रो प्राथमिकता होइन, यो विश्वविद्यालयको नामसँग जनताको भावना जोडिएको छ,’ उहाँले, ‘जनताले संघर्षबाट स्थापना गरेको विश्वविद्यालयको नाम हचुवाको भरमा परितर्न गर्दा त्यसबाट पर्ने प्रभाव र दीर्घकालीन असरबारे एकपटक सोचिनुपथ्र्यो ।’ आयोगले नाम परिवर्तनजस्तो गम्भीर विषयमा केटाकेटीपना देखाएको उहाँले बताउनुभयो । उपकुलपति सिंहका अनुसार विश्वविद्यालयको नाम परिवर्तन गर्नै पर्दा कान्जिरोवा विश्वविद्यालय, रारा विश्वविद्याय वा कर्णाली विश्वविद्यालय राख्नेबारे सोच बनेको थियो ।
त्यो पनि विश्वविद्यालय सभा, यहाँको नागरिक समाज र सरोकारवालासँग छलफल गरेरमात्र नाम परिवर्तन गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । विश्वविद्यालयको नाम परिवर्तन गरिए पनि आर्थिक मितव्ययिता कायम गर्नको लागि केही समयसम्म साविककै नाम भएका लेटरप्याड, लोगो, झण्डा, उत्तर पुस्तिका र डिजिटल पोर्पटीहरु प्रयोग गरिने विश्वविद्यालयले जनाएको छ । यसले गर्दा आधिकारितामाथि कुनै असर नपर्ने विश्वविद्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।