काठमाडौं – सातामा कारोबारको अन्तिम दिन आज बिहिबार सेयर बजार उकालो यात्रातर्फ उन्मुख भएको छ । आज सेयर बजार सामान्य अङ्कले बढेको हो । बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ३७ अङ्कले बढेर २ हजार ७ सय ८७ दशमलव १८ बिन्दुमा पुगेको छ । नेप्से ० दशमलव २३ प्रतिशतले बढेको हो । यसअघि आइतबार सोमबार र मङ्गलबार लगातार नयाँ रेकर्ड राखेको सेयर बजार हिजो बुधबार भने दोहोरो अङ्कले घटेको थियो । यस्तै, सेन्सेटिभ परिसूचक २ दशमलव ८३ अङ्कले बढेर ४ सय ९८ दशमलव ९७ को बिन्दुमा पुगेको छ । आज कूल २ सय १४ वटा कम्पनीको एक करोड ९७ लाख ५१ हजार ८ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड १९ लाख ३१ हजार ६ सय ८९ रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारले बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४ सय ११  रुपैयाँ बराबरको कारोबार गरी सर्वाधिक कारोबार गरेको थियो । 
आज कारोबार भएका कूल उपसमूहमध्ये ५ वटा मात्र उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकि ८ वटा उपसमूहको सेयरमूल्य घटेको छ । आज फाइनान्स समुहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । फाइनान्स समुहको सेयरमूल्य ६ दशमलव १२ प्रतिशतले बढेको हो । त्यसैगारे डेभलपमेन्ट बैंक समुहको सेयरमूल्य ३ दशमलव ७ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको सेयरमूल्य ० दशमलव ९५ प्रतिशतले बढेको छ । अन्य समूहको सेयरमूल्य ० दशमलव ०८ प्रतिशतले बढ्दा म्युचुअल फण्ड समुहको सेयर ० दशमलव ०३ प्रतिशतले बढेको छ । अन्य उपसमूहको सेयरमूल्यमा भने गिरावट आएको हो । यस्तै कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनीले अग्रता कायम गरेको छ । कम्पनीले ३४ करोड ३७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो ।
त्यस्तै, आज ८ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । जसमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहिबार गुडवील फाइनान्स कम्पनी लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । अन्य ६ कम्पनीको सेयर पनि सर्किट लेभलमा कारोबार भएको छ । यता, पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयरमूल्य २६ रुपैयाँले घटेर ३ सय ४० रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्यमा ७ दशमलव १० प्रतिशतले गिरावट आएको हो ।