काठमाडौं –काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिन थालिएको हो । यसरी खोप लिनेमा २३ हजार ४ सय ८५ पुरुष र १९ हजार ५ सय ३३ महिला छन् । यो सङ्ख्या कामपाको वडास्तरीय ३२ वटा खोप केन्द्र र त्रिवि शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ खोप केन्द्रको सङ्ख्या हो । यीमध्ये सबैभन्दा धेरै वडा नं २६ को खोप केन्द्र लैनचौरबाट २ हजार ४ सय ९२ ले खोप लिएका छन् । वडा १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट २ हजार ४ सय २७ ले र तेस्रोमा वडा नं ३२ बाट २ हजार ३ सय ८५ ले खोप लिएका छन् ।
काठमाडौं महानगरपालिकामा ११ वडामा खोप लिनेको सङ्ख्या १ हजारभन्दा कम रहेको छ । यी वडामा सबैभन्दा थोरै, वडा नं १९ बाट १ सय ९७ जनाले, त्यसपछि वडा नं २० मा ३ सय ९४ र तेस्रोमा वडा नं २४ मा ४ सय ८ जनाले खोप लिएका छन् । त्यसपछि वडा नं २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४ सय १९, ४ सय ४२, ४ सय ८७, ५ सय २५, ७ सय ६, ७ सय २९, ८ सय १३ र ९ सय ५ रहेका छन् । जेठ ११ गतेसम्म चल्ने खोपमा गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने व्यवस्था गरिएको छ ।
यस अवधिमा हरेक दिन बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर पायक पर्ने खोप केन्द्रमा जानुपर्छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । नागरिकलाई सहजताका लागि सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । पहिलो डोज जहाँसुकै लगाएको भए पनि दोस्रो डोज भने पायक पर्ने स्थानमा लगाउने व्यवस्था हुँदा नागरिकलाई सहज भएको छ । काठमाडौं महानगरपालिकामा अहिलेसम्म ५४ हजार ५ सय ६८ सङ्क्रमितमध्ये १२ हजार ४१ सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाका कारण ३ सय ७२ जनाको मृत्यु भएको छ । ४२ हजार १ सय ५५ जना निको भएको तथ्याङ्कमा उल्लेख छ ।