गाजा– इजरायल र प्यालेस्टाइन बीच बढ्दो हिंसा र मानवीय क्षतिलाई रोक्न विश्व समुदायले अपिल गर्दा पनि दुवै पक्ष बीच सङ्घर्ष जारी छ । यसैबीच हिंसा अन्त्य गरी समस्याको शान्तिपूर्ण समाधानको उपाय अवलम्बन गर्न अमेरिकाले इजरायलमाथिको दबाब दिएको छ ।

इजरायलको महत्वपूर्ण सहयोगी राष्ट्र अमेरिकाले इजारायल र प्यालेस्टाइन हिंसा दोस्रो हप्तामा जारी रहँदा तथा बालबालिकासहित सर्वसाधारणको ज्यान गएका बेला इजरायली प्रधानमन्त्री माथि दबाब बढाएको हो । इजरायलसँग प्यालेस्टाइनी हमास बिद्रोहीबाट हुन सक्ने चुनौतिमा आत्मरक्षाको अधिकार रहेको बताउँदै आएका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आक्रमण कम गर्न आग्रह गरिरहको अन्तराष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनको चाहना युद्धविरामका लागि मार्ग प्रशस्त होस् भन्ने रहेको र त्यसका लागि इजरायली प्रधानमन्त्री नेतन्याहूलाई आक्रमण ठूलो स्तरमा कम गर्न भनेको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाले इजारायल–प्यालेस्टाइनबिच जारी हिंसाको विरोध गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले जारी गर्न खोजेको संयुक्त वक्तव्य रोकेको थियो । यस्तो वक्तव्यले पर्दा पछाडि युद्धविरामका लागि भइरहेको प्रयास भाँडिन सक्ने अमेरिकाको भनाई छ ।

राष्ट्रपति बाइडेनले हिंसा कम गर्न अपिल गरेता पनि इजारयली प्रधानमन्त्री नेतन्याहूले भने जारी रहने बताएका छन् । आफ्ना नागरिकको सुरक्षाको सुनिश्चितता नभएसम्म आक्रमण जारी रहने प्रधानमन्त्री नेतन्याहूको भनाइ रहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

मे १० देखि सुरु भएको हिंसाका कारण हमास नियन्त्रणको गाजामा १०० भन्दा बढि महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २२७ जनाको ज्यान गएको छ । इजरायलले भने मारिने मध्ये कम्तीमा १५० जना हमास लडाकु रहेको दाबी गरेको छ । तर हमासले अहिलेसम्म आफ्ना लडाकु कति मारिए भनेर कुनै तथ्याङ्क दिएको छैन । इजरायल तर्फ दुई बालबालिकासहित १२ जनाको ज्यान गएको छ ।

इजरायलले गाजा तर्फबाट रकेट र हवाई आक्रमण गर्दै आएको छ । इजरायली आक्रमणका कारण पहिले नै नाजुक अवस्थामा रहेको गाजाको अवस्था झन भयावह बन्दै गएको भन्दै संयुक्त राष्ट्रसंघसहितका सहायता संगठनले चिन्ता व्यक्त गरेका छन् ।
तस्बिरहरु ः एएफपी र रोयटर्स