काठमाडौ – बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त पदको मतदान सुरु हुने क्रममा छ । मकवानपुरको हेटौंडा नगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमा मतदाताले मत हाल्ने काम सुरुभएको छ । तोकिएको छ ।
मतदाता जनप्रतिनिधिहरु निर्वाचन स्थल पुगिसकेका छन् । आज हुन लागेको उप–निर्वाचन माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादललाई केन्द्रले कारवाही गरेपछि रिक्त हुन आएको हो । अहिले हुने उप–निर्वाचन प्रदेशको अन्य समूह तर्फ रिक्त सिटका लागि हुन लागेको हो । बिहान ९ बजेपछि मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

यो उप–निर्वाचनमा माओवादी केन्द्रबाट एमालेमा विलय भएका गृहमन्त्री रामबहादुर थापा बादल एमाले ओली समूह र विपक्षी गठबन्धनको समर्थन पाएका एमालेका नेता माधव नेपाल समूहका खिमलाल देवकोटाको बीच कडा प्रतिस्पर्धा हुनेछ । बादल र देवकोटा दुवै एमालेका हुन् । यो उप– निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ समेत उम्मेदवार हुनुहुन्छ ।

एमाले वरिष्ठ नेता खनाल–नेपाल पक्षबाट उम्मेदवार बनाइएका डा. खिमलाल देवकोटालाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको साथै विवेकशिल साझा पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलले साथ दिएका छन् । एमाले एमाले वरिष्ठ नेता खनाल–नेपाल पक्षबाट पनि डा. देवकोटालाई नै मत जाने निश्चित् छ । यो समुहले आफु पक्षीय मतदातालाई स्वविवेक मताधिकार प्रयोग गर्न भनिएता पनि खनाल–नेपाल पक्षको मत खिमलाल देवकोटालाई नै जाने छ ।

एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पक्षमा स्वयम ओली समूहका मतदाताहरु सन्तुस्ट छैनन् । विशेषगरी ओली समूहका प्रभावशाली नेता उप–प्रधानमन्त्री ईश्वर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललगायतका नेताहरु गृहमन्त्री बादललाई जिताएको खण्डमा एमाले भित्र उनलाई व्यवस्थापन गर्दा ठूलो समस्या आउने उनीहरुको बुझाइ छ । त्यसैले बाहिर जे भनिएता पनि गृहमन्त्रीको पक्षमा ओली समूहका प्रभावशाली नेताहरु नै गृहमन्त्री बादलको पक्षमा छैनन् ।

प्रधानमन्त्री केपी शर्माले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी विभाजन भएर पुनः एमाले र माओवादी केन्द्र बनेपछि केन्द्रका अध्यक्ष प्रचण्डलाई राजनीतिक रुपमै सेखी झार्न ओलीले बादललाई च्यापेको प्रष्ट छ । गृहमन्त्री थापा यो उप–निर्वाचनमा पराजित भएको अवस्थामा उनको राजनीतिक भविष्यमाथि पनि प्रश्न चिन्ह खडा हुनेछ ।

हिजो प्रधानमन्त्री ओलीले गृहमन्त्री बादलको पक्षमा मत हाल्न आफ्नो पार्टीका मतदाताहरुलाई चेतावनीसहितको विज्ञप्तीमार्फत् अपिल गरेका थिए । जुन निर्वाचनको आचारसंहिता विपरित पनि हो । गृहमन्त्री बादलको चुनाव चिह्न सूर्य रहेको छ भने गठबन्धन दलका उम्मेदवार डा. खिमलाल देवकोटाको कलम चिन्ह रहेको छ ।

अहिले हुनलागेको उप–निर्वाचनको कुल मतदाता सङ्ख्या ३ सय ४८ रहेको छ । जस्मा बाग्मतीका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । बाग्मती प्रदेशसभा सदस्यको सङ्ख्या १ सय १० छ । प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख सहित २ सय ३८ छन् । यसरी कुल मतदाता सङ्ख्या ३ सय ४८ छ । मतदानको समय बिहान ९ बजेदेखि ३ बजेसम्मको लागि तोकिएको छ । आजै साँझसम्म उप–निर्वाचनको परिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।