काठमाडौं – भारतले आगामी अक्टोबरसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा लगाइएको प्रतिबन्ध कायम रहन सक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । सरकारी स्रोतलाई उल्लेख गर्दै समाचारमा यसअघि अपेक्षा गरिएभन्दा लामो समयसम्म भारतले खोप निर्यातमा प्रतिबन्ध लगाउने तयारी भएको बताएको छ । यसले विश्वका सबै मुलुकमा खोपको पहुँच समान रुपमा पु¥याउने उद्देश्यका साथ ल्याइएको कोभ्याक्स कार्यक्रमबाट हुने आपूर्तिमा थप असर पर्न सक्ने देखिएको छ ।
कोरोनाको सङ्क्रमण मुलुकभर बढेसँगै भारतले एक महिनाअघि कोरोना खोप निर्यातमा रोक लगाएको थियो । त्यतिबेलासम्म भारतले अनुदान वा बिक्रीमार्फत् ६ करोड ६० लाख डोज खोप निर्यात गरेको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सोमबार भारत बाहिरका खोप उत्पादकहरुलाई आपूर्ति बढाउन आग्रह गरेको थियो । भारतमा कोरोना सङ्क्रमण कुन दिशातर्फ जान्छ भन्ने कुरामा खोप निर्यातमा फुकुवाको निर्णय निर्भर रहेको सरकारी स्रोतले बताएको छ
यो निर्णयको विषयमा भारतको विदेशमन्त्रालयले भने कुनै प्रतिक्रिया दिएको छैन । भारतको सबैभन्दा ठूलो कोरोना खोप उत्पादक सेरम इन्स्टिच्युटले अहिले कम्पनीको ध्यान खोप भारतमा नै आपूर्ति गर्नेतर्फ केन्द्रित रहेको बताएको छ । यसअघि कम्पनीले जुन महिनाबाट भारतले कोरोना खोप निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने विश्वास लिएको थियो । सेरम इन्स्टिच्युटले मे को अन्तिम सम्ममा दिनुपर्ने खोपमध्ये १४ करोड डोज खोप भारतमा अड्किएको छ ।