काठमाडौं – भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनी प्रहरीले बिराटनगर महानगरपालिकाबाट बरामद गरेको छ । भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनीसहित १ लाख ६४ हजार मूल्य पर्ने सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डिएसपी) मान बहादुर राईले जानकारी दिएका छन् । विराटनगर महानगरपालिका–१७ स्थित दरैयाबाट सुधीरकुमार महतोले ल्याएको ४ बोरा कपडा सिमानाबाट नेपालतर्फ ल्याएर टेम्पोमा लोड गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । 
सो तयारी कपडाको मूल्य १ लाख ५६ हजार रहेको छ । विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवाबाट प्रहरीले १ सय ६० किलो चिनी बरामद गरेको छ । जोगवनीबाट चिनी नेपाल ल्याउँदै गरेको समूह प्रहरीलाई देखेपछि भागेको डिएसपी राईले बताएका छन् । आवश्यक कारवाहीका लागि बरामद सामान प्रहरीले भन्सार कार्यालय रानीमा बुझाएको छ ।