काठमाडौं – सेयर बजारमा मङ्गलबार इतिहासकै  सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मङ्गलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४ दशमलव ६८ अङ्कले बढेर २ हजार ७ सय ९३ दशमलव ८९ बिन्दुमा अडिएको छ । नेप्से १ दशमलव २६ प्रतिशतले बढेको हो । 
उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा उछाल आएको छ । सबैभन्दा बढी जीवन बिमा कम्पनी २ सय ४ दशमलव १४ अङ्कले बढेको छ । आज १० वटा कम्पनीको  सेयर मूल्य १० प्रतिशतले अर्थात सर्किट लेभलमा बढेको छ । नेप्से सूचक र खरिदबिक्री रकम दुवैले मंगलबार नयाँ रेकर्ड कायम गरेका हुन् । 
खरिदबिक्री रकम ६७ करोड ९२ लाख रुपैयाँभन्दा बढी सहित नेपाल पुनर्बिमा कम्पनी अगाडि छ । दोस्रो र तेस्रोमा क्रमशः नेशनल लाइफ इन्सुरेन्स र अरुण काबेली हाइड्रोपावर परेका छन । झन्डै ३ दर्जन कम्पनीमा भाउ बढेर सकारात्मक सर्किट ब्रेकर लागेको छ । होटेल तथा पर्यटन, फाइनान्स, हाइड्रोपावर लगायतका समूहमा आकर्षण बढी  देखिएको छ । २ सय १५ कम्पनीको २ करोड ३१ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।