जनकपुरधाम – सिरहामा कोरोना सङ्क्रमणबाट एकजना चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा–६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिएका छन् ।
उनका अनुसार डा. चौधरी कोरोना सङ्क्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको स्वास्थ्य शाखा संयोजक यादवले बताएका हुन् । ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा सङ्क्रमित भएका थिए ।