काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकभरको मौसममा फेरबदल हुने जनाएको छ । महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले बताए अनुसार ताउ–ते चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि देशको पश्चिमी तथा उच्च हिमाली क्षेत्रमा अप्रत्यक्ष प्रभाव परेको छ । अहिले देशका सबै क्षेत्रको मौसममा सामान्य बदली देखिएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा बनेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभावले मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मङ्गलबार बिहानैदेखि मौसममा बदली भएको देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । मौसमविद प्रतिभा मानन्धर अनुसार पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनुको साथै हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ । देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद मानन्धरले बताउनु भएको छ । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

शक्तिशाली चक्रवात ताउ–ते उत्तर–उत्तरपश्चिम हुँदै सोमबार राति गुजरात पुगेर ठोक्किएको थियो । चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने सम्भावना रहेको छ । चक्रवातको कारण आजबाट देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको हुने मौसमविदको भनाइ छ । यस्तै बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा अधिक वर्षाको सम्भावना रहेको छ । मौसमविद् मानन्धरले बताए अनुसार देशको पूर्वी र मध्यखण्डमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।