गाजा– इजरायल–प्यालेस्टाइनबिचको भड्कँदो हिंसा बढ्दै जाँदा अन्तर्राष्ट्रिय चासो र चिन्ता बढ्दै गएको छ । सर्वसाधारण नागरिकको रक्षाका लागि संयुक्त राष्ट्रसंघ, अमेरिका तथा बेलायतले लागि अपिल गरेका हुन् । हवाई आक्रमणका कारण भत्किएका भवनका भग्नावशेषबाट निकालिँदै गरेका बालबालिका तथा आक्रमणबाट जोगिन भाग्दै गरेका सर्वसाधारणको तस्बिर तथा भिडियोले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता पैदा गरेको छ । इजरायल–प्यालेस्टाइनको हिंसा दोस्रो हप्तामा प्रवेश गरेको छ । मे १० तारिखदेखि भड्किएको हिंसा निरन्तर जारी छ । अन्तर्राष्ट्रिय समुदायले अपिल गरेता पनि दुई पक्षीय वार्ता र युद्ध बिरामको सम्भावना अझै देखिएको छैन ।

अहिलेसम्म इजरायल–प्यालेस्टाइनको सङ्घर्षका कारण गाजा क्षेत्रमा ६१ बालबालिकासहित २ सय १२ जनाले ज्यान गुमाइसकेका छन् । इजरायलमा दुई बालबालिकासहित १० जना मारिएका छन् । इजरायलले गाजामा मारिएका अधिकांश बिद्रोही लडाकु रहेको र त्यसको चपेटामा सर्वसाधारण नागरिक पनि मर्न पुगेको बताएको छ । प्यालेस्टाइनी हमासले मारिने सबै सर्वसाधारण रहेको बताएको छ । गाजामा हमासको नियन्त्रण कायम रहेको छ । सोमबार राति पनि उत्तर र दक्षिण क्षेत्रबाट रकेट आक्रमण भएकाले इजरायली क्षेत्रमा साइरन बजेका थिए । इजरायलले आफ्नो प्रतिरक्षाका लागि हवाई आक्रमण जारी राख्ने बताएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई निशाना बनाउन छोड्नु पर्ने बताएका छन् । तर हमासले अहिले पनि आफ्नो आक्रमण लुकाउनका लागि सर्वसाधारणको प्रयोग गरेको हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । यता अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले भने दुवै पक्षलाई सर्वसाधारण र बालबालिकाको रक्षाका लागि अपिल गरेका छन् । यसका लागि प्रजातान्त्रिक राष्ट्र भएकाले इजरायल बढी सम्मेदनशिल र जिम्मेवार हुनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघले मानवीय क्षतिसँगै गाजाका पूर्वाधारमा पुगेको क्षतिप्रति गम्भीर चासो व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आकस्मिक सेवा प्रमुख डा. माइक रायनले स्वास्थ्य सेवामा भइरहेका सबै आक्रमण तत्काल रोकिनु पर्ने बताएका छन् । त्यसैगरी जर्मन चान्सलर एङ्गेला मर्केलले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुराकानी गर्दै युद्ध अन्त्य गरी वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेकी छन् । फ्रान्स तथा इजिप्टले पनि हिंसा अन्त्यका लागि दुवै पक्षसँग तत्काल युद्ध बिराम गर्न अनुरोध गरेका छन् ।
तस्बिरः द न्यूयोर्क टाइम्स