काठमाडौं –साताको दोस्रो दिन आज सोमबार सेयर बजार उकालो लागेको छ । साढे ९ अर्ब बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ । नेप्से परिसूचक २० दशमलव ७१ अङ्कले बढेर २ हजार ७ सय ५९ दशमलव २१ विन्दुमा अडिएको छ । तीनवटा समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन, विकास बैंक र उत्पादन तथा प्रशोधन समुहमा गिरावट आएता पनि बजार तेज गतिमा दौडिएको परिसूचकहरुले देखाउँछ । 
    कारोबारमा आएका २ सय १८ कम्पनीको ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार भएको हो । रुरू जलविद्युतको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । १० प्रतिशतले बढेको रुरुको सेयर मूल्य प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ । समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य पनि ९ दशमलव ९८ प्रतिशतले बढेर प्रतिसेयर १ हजार ४ सय १० रुपैयाँ पुगेको छ । राधी जलविद्युतको  सेयर मूल्य पनि ९ दशमलव ९४ प्रतिशतले बढेको छ । आज नेपाल पुर्नवीमा कम्पनीको ६६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।