भारत– भारतका रक्षा मन्त्री राजनाथ सिंहले कोरोना भाइरसविरुद्धको औषधि २–डीजीको पहिलो डोज आज सोमबार जारी गरेका छन् । डीआरडीओले जारी गरेको औषधिको पहिलो खेप डोज जारी गरेपछि मन्त्री सिंहले भनेका छन्, ‘यसको प्रयोगबाट सङ्क्रमितलाई चाँडो निको हुने गरेको जानकारी मलाई दिइएको छ । यस्तै अक्सिजनमाथिको निर्भरता पनि ४० प्रतिशतले कम हुने देखिएको छ ।’कोरोना भाइरसको महामारी विरुद्धको युद्धमा यो औषधि आशाको किरणका रुपमा आएको उनले बताएका छन् ।
२ डीअक्सी–डी–ग्लूकोज नाम गरेको औषधिलाई संक्षेपमा २–डीजी भनिएको हो । यो औषधि भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) को इन्स्टिच्यूड अफ न्यूक्लियर मेडिसिन एण्ड एप्लाइड साइन्सेज (इनमास) र डाक्टर लेड्डीज ल्याबले संयुक्त रुपमा बनाएका हुन् । भारतमा यसलाई कोरोना सङ्क्रमितका लागि दिइने पहिलो औषधि भनिएको छ । भारतको औषधि नियामक निकाय डीजीसीआईले आकस्मिक प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।