काठमाडौं – आगामी आर्थिक वर्षको बजेट २०७८/०७९ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्रालयले बजेटको मस्यौदा मात्र तयार गर्न बाँकी रहेको जनाएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार अर्थमन्त्रालयले लेखन प्रक्रियालाई तीब्रता दिएको हो । बजेट लेखनमा अर्थ मन्त्रालयका पाँच जना सहसचिवको समुह सक्रिय रहेको छ । बजेट पूर्व ल्याइने सरकारको नीति तथा कार्यक्रम पनि अर्थले बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको अर्थस्रोतले बताएको छ । स्रोत भन्छ, ‘कहाँ कति बजेट पार्ने भन्ने पाटो सकिएको छ ।
अर्थमन्त्रालयको बजेट लेखन टिम बिहानदेखि साँझसम्म सक्रिय रहने गरेको छ । ’मन्त्रिपरिषदको कार्यालयले नीति तथा कार्यक्रमको अन्तिम रुप दिएपछि राष्ट्रपतिले संसदमा पेश गर्नुहुनेछ । बजेट अधिवेशन अझै पनि सुचारु नभएकाले संसदबाट बजेट आउनेमै विज्ञहरुले शङ्का गरेका छन् । कतिपय राजनीतिक दलले त ओली सरकारले अध्यादेशमार्फत बजेट ल्याउने आशङ्का व्यक्त गरेका छन ।
यद्यपि प्रधानमन्त्रीले अध्यादेशमार्फत् बजेट ल्याउने बारे पार्टीमा कुनै छलफल नभएको जनाइसक्नु भएको छ । उहाँले संसद जिवितै रहेकाले संसदबाटै बजेट ल्याउने बताउँदै आउनु भएको छ । कोरोना नियन्त्रण तथा पुनर्उत्थान यस पटकको बजेटको प्राथमिकता भएको अर्थ मन्त्रालयले स्पष्ट पारिसकेको छ । दोस्रो पटक पदभार ग्रहण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सम्पूर्ण सामथ्र्य कोरोना रोकथाम तथा नियन्त्रणमा हुने बताउनु भएको थियो ।