इजरायली र प्यालेस्टाइनी बीचको सङ्घर्षका कारण इजरायलको हवाइ आक्रमणमा परी आइतबार मात्रै ४० जनाले ज्यान गुमाएका छन् । गाजामा रहेका प्यालेस्टाइनी अधिकारीहरुले आइतबार इजरायली हवाई आक्रमणका कारण अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको बताएका छन् । उक्त घटनाको जानकारी जागामा रहेका प्यालेस्टाइनी अधिकारीको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका हुन् ।

इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरुले गएको हप्ताभरमा इजरायलमा तीन हजारभन्दा बढि रकेट प्रहार गरेका छन् । सोमबार बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । त्यसअघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेका थिए । गएको सोमबारदेखि निरन्तर इजरायल र प्यालेस्टाइनबिचको हिंसा जारी छ । अन्तर्राष्ट्रिय समुदायले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न अपील गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्यपूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिएका छन् । उनले हिंसा तत्काल अत्या गर्न अपील गरेका छन् ।

यस्तै संयुक्त राष्ट्रसंघले गाजामा इन्धनको अभाव हुन सक्ने चेतावनी पनि दिएको छ । मध्य पूर्वको शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघकी डेपुटी स्पेशल कोअडिनेटर लीन हास्टिङ्गसले गाजामा इन्धन आपूर्तिका अनुमति दिन इजरायलसँग अपील गरिएको बताएकी छन् । गाजाका अधिकारिका अनुसार शनिबार एकै दिन १० बालबालिका र १६ महिलासहित ४२ जनाको इजरायली हवाई आक्रमणका कारण मृत्यु भएको छ ।

गएको हप्ताको सोमबारदेखि हिंसा सुरु भएयता प्यालेस्टाइनी रकेट आक्रमणमा परी आफ्नो देशका दुई बालबालिकासहित १० जनाको ज्यान गएको इजरायलले जनाएको छ । एकहप्ताको अवधिमा गाजामा ५५ बालबालिका र ३३ महिलासहित कुल १८८ जनाको ज्यान गएको छ । हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार १२ सय ३० जना घाइते भएका छन् । इजरायलले भने मारिनेमा बिद्रोही लडाकुको संख्या बढि रहेको दाबी गरेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो वाइडेनले दुवै क्षेत्रका नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अधिकार रक्षाका लागि आफूहरुले काम गरिरहेको बताउनु भएको छ । राष्ट्रपति वाइडेनले हिंसा अन्त्यका लागि दुवै पक्षसँग अपिल गर्नु भएको छ । हिंसाकै विषयलाई लिएर संयुक्त राष्ट्रसंघमा पनि छलफल भैरहेको छ ।