काठमाडौं – हास्य श्रृङ्खला‘सक्किगोनी’का कलाकार दीपकप्रसाद आचार्य (काकु)ले कोरोना जितेका छन् । उनले आफुले कोरोना जितेको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालको पोष्टमा आफु कोरोना जितेर घर फर्किएको बताएका छन् । कोरोनासँगको लडाईमा आफु खतरामुक्त रहको बताएका उनले ८ दिनको होम आइसोलेसन र ९ दिनको अस्पताल बसाइपछि ठिक भएको जनाएका छन् ।
‘जीवनको मूल्य तब मात्र थाहा हुँदो रहेछ, जब मान्छेले आफ्नै मृत्युलाई आफ्नै सामुन्ने आफ्नो जीवन समाप्तिको लागि प्रतिक्षा गरि रहेको प्रत्यक्ष देख्छ’ उनले फेसबुकमा लेखेका छन् ‘यस्तै एउटा मृत्युलाई पराजित गरेर सुरुको ८ दिनको होम आइसोलेसन र ९ दिनको अस्पताल बसाइपछि  घर आएको छु ।’आफुलाई कोरोना सङक्रमण पछि निमोनिया समेत भएको बताएका उनले सोही समय आफुलाई अस्पताल पु¥याउनेलाई  धन्यवाद दिएका छन् । समयमा अस्पताल र अक्सिजनको व्यवस्थापन नभएको भए परिस्थिती अर्कै हुने बताएका उनले आफ्नो उपचार गर्ने जनमैत्री अस्पतालका डाक्टर तथा नर्सहरूको टिमप्रति समेत आभार ब्यक्त गरेका छन् ।
‘बीचमा मेरो स्वास्थप्रति चिन्ता ब्यक्त गर्नुहुने सम्पुर्ण प्रति आभार ब्यक्त गर्दछु । कोरोना सङ्क्रमण भै उपचार गराइ रहनु हुने सबैमा शिघ्र स्वास्थ लाभको कामना गर्दछु’ उनले अगाडि थपेका छन् ‘डाक्टरको सल्लाह अनुसार अझै १० दिन होम आइसोलेसनमा हुनेछु ।’ आफु अहिले पुर्ण रुपमा खतरा मुक्त भएको बताएका आचार्यले यो महामारीबाट बच्न सबैलाई सजग हुन र यो रोगलाई सामान्य रुपमा नलिन अनुरोध समेत गरेका छन् । उनले भनेका छन् ‘नत्र आफ्नो श्रद्धाञ्जलीको फोटो आउला भन्ने चिन्ताले अस्पतालको शैयाबाट प्रतिक्षा गरिरहनु पर्दाको पीडा अत्यन्तै कष्टकर हुन्छ है !’