दमौली– कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाको शब व्यवस्थापना व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने आफैं खटिनु भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव जलाउने विषयलाई लिएर भएको विवादमा नगरपालिका प्रमुख न्यौपानेका साथै व्यास नगरपालिका वडा नं १ का वडाध्यक्ष खरसिंह दरै र १० का वडाध्यक्ष तुलसीराम सापकोटाले मध्यस्थता कायम गरी शव जलाउने काम भएको थियो ।
मादी र सेती नदीको संगममा रहेको घाटमा मृत्युभएकाहरुको शवको अन्यष्ठी गर्ने गरिन्छ । कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव उक्त स्थानमा नजलाउन स्थानीयले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो । उक्त स्थानमा सङ्क्रमितको शव जलाउन हुँदैन भनेर विवाद भएपछि उक्त विवादलाई समाधान गर्न नगर प्रमुख र दुवै वडाध्यक्ष आफैं जुटेर शव व्यवस्थापनमा लागेपछि सहमति जुटेको थियो । आइतबार मात्रै उक्त स्थानमा सेना एवं प्रहरीको सहयोगमा दुईवटा शव जलाउने कार्य भएको थियो ।
ब्यास नगरपालिकाले तनहुँमा कोरोना भाइरस सङ्क्रमणबाट सङ्क्रमित हुनेहरुको उपचारमा यथोचित ध्यान दिंदै दमौली अस्पताल, जि पि कोइराला श्वासप्रश्वास केन्द्र, एवम् अन्य निजी स्वास्थ्य संस्थाहरुलाई आइसोलेसन सञ्चालन गर्न आग्रह गरेको छ ।