कर्णाली – कर्णाली प्रदेश सरकारले प्रदेश भर आवश्यक पर्ने अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख बजेट विनियोजन गरेको छ । आइतबार साझ बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसका नयाँ भेरियन्ट सहितका बिरामीलाई अक्सिजन अनिवार्य भएकोले सुर्खेतमै उत्पादन गर्नेगरि अक्सिजन आपूर्ति गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने गर्ने निर्णय गरेको हो । त्यस्तै कर्णाली प्रदेश सरकारले दुर्गमका सङ्क्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय समेत गरेको छ । 
प्रदेश सरकारका प्रवक्तासमेत रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरु डोल्पा, मुगु र हुम्लामा सङ्क्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । उहाँले बताए अनुसार, ‘कर्णाली प्रदेशका यी जिल्लाहरुमा उपचार सम्भव नभएका सङ्क्रमितलाई कोरोना विशेष अस्पतालमा लिएर उपचार गर्छौं ।’ उक्त सङ्क्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पुर्याइने छ । 
सरकारले निजी सेवा प्रदायक कम्पनीका हेलिकप्टर चार्टर गर्ने प्रदेश सरकारले जनाएको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले सङ्क्रमित बिरामीको उद्धारका लागि सरकारले एक करोड बजेट छुट्याएको छ । बैठकले अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि पाँच करोड ४५ लाख र रेमडिसिभिर लगायतका औषधि खरिदका लागि एक करोड बजेट छुट्याइएको छ ।उक्त सबै स्वास्थ्य सामग्री खरिदका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई अनुमति दिने निर्णय समेत भएको प्रदेश सकारले जनाएको छ ।