नयाँ दिल्ली – कोरोना भाइरसको नयाँ भेरिएन्टले आक्रान्त बनेको दक्षिण छिमेकी देश भारतमा विगत ५ दिनदेखि दैनिक रुपमा नयाँ सङ्क्रमणको सङ्ख्या केही घटिरहेको छ । भारतमा एक साता अघिसम्म एकै दिन चार लाखको हाराहारीमा सङ्क्रमितहरु भेटिने गरे थियो । त्यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट निको भएर घर फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

भारतमा पछिल्लो चौबीस घण्टामा १५ लाख ७३ हजार ५ सय १५ जनाको नमूना परीक्षण गर्दा २ लाख ८१ हजार ३ सय ८६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ३ लाख ७८ हजार ७ सय ४१ जना निको भएर अस्पतालबाट घर फर्किका छन् ।

विगत केही हप्तादेखि लगातार तीन लाखभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिने गरेका थिए । अघिल्लो दिन भारतमा ३ लाख ११ हजार भन्दा धेरै सङ्क्रमित थपिएका थिए भने ४ हजार ७७ जनाको मृत्यु भएको थियो । सङ्क्रमित भएकाहरु मध्ये ३ लाख ६२ हजार जना सङ्क्रमण मुक्त भै घर फर्किका थिए । अघिल्लो दिनको तुलनामा पछिल्लो चौबीस घण्टामा नयाँ सङ्क्रमितको संख्या निकै घटेको छ भने मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ४ हजार १ सय ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको सङख्या २ लाख ७४ हजार ३ सय ९० पुगेको छ । कुल सङ्क्रमितको सङख्या २ करोड ४९ लाख ६५ हजार ४ सय ६३ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये २ करोड ११ लाख ७४ हजारभन्दा बढी निको भैसकेको छन् । अहिले भारतमा ३५ लाख १६ हजार ९ सय ९७ सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा १८ करोड २९ लाखभन्दा धेरै मानिसलाई कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाइ सकिएको छ ।