काठमाडौं— महत्वाकाङ्क्षी राष्ट्रिय गौवरको आयोजना मानिएको काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक (द्रुतमार्ग) को सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणको लागि ठेक्का सम्झौता भएको छ । द्रुतमार्गको ‘माइलस्टोन’ मानिएकोे सुरुङमार्ग तथा हाइब्रिज निर्माण गर्न सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन प्राइभेट लिमिटेड र प्याकेज–२ का लागि चीनकै पोली च्याङ्दा कन्सट्रक्सन कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता हो ।
द्रूतमार्गतर्फबाट नेपाली सेनाका प्राविधिक सहायक रथी एवम् आयोजना प्रमुख विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सनका कार्यकारी निर्देशक सु यान र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सनका प्रोजेक्ट प्रबन्धक प्रमुख श्रीमती सु तिनग्यु बारबराले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी हो ।
सैनिक प्रवक्ता पौडेलका अनुसार सम्झौताअनुसार दुईवटै प्याकेजको डिजाइनका लागि छ महिनासहित कुल निर्माण अवधि साढे तीन वर्ष रहेको छ । पहिलो प्याकेजको रु. २१ अर्ब ६१ करोड र दोस्रो प्याकेजको निर्माण लागत २८ अर्ब ५३ करोड रुपियाँ रहेको छ । द्रुतमार्ग निर्माणको अनुमानित कुल लागत रु. १ खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रहेको छ ।
पहिलो प्याकेजमा एउटा लामो सुरुङ र दोस्रो प्याकेजमा छुट्टाछुट्टै दुईवटा सुरुङमार्ग निर्माण गरिने छ । महादेव डाँडा, लेन डाँडा र धेद्रे डाँडा गरी यी तीन ठाउँमा कुल ६. दशमलब ०७ किलोमिटरको सुरुङ्मार्ग र हाइब्रिज निर्माण हुनेछ । उक्त सुरुङमार्ग र हाइब्रिजको निर्माण ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा गर्नुपर्ने हुन्छ । यस मोडेलअनुसार निर्माण छनोट भएका कम्पनीले सुरुङमार्ग निर्माणको डिजाइन र कमिसनिङ स्वयं आफैंले गर्नुपर्ने हुन्छ ।
सम्झौता अनुसार सुरुङमार्ग तथा हाइब्रिजको निर्माण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी)’ निर्माण र ‘डीएलपी’ को अवधिमा सुरुङमार्ग तथा हाइब्रिजको मर्मत सम्भारको जिम्मेवारी समेत निर्माण कम्पनीले नै लिएको छ ।
सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको पूर्वछनोटको क्रममा ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएका थिए । तीमध्ये तीनवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए । नेपाली सेनाले २०७६ फागुनमा द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माण गर्ने कम्पनी छनोटका लागि प्रि–क्वालिफिकेसन आह्वान गरेको थियो । आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्ने गरी द्रुतमार्गको कुल दूरीलाई ११ क्लस्टरमा विभाजन गरी काम अगाडि बढाइएको सेनाले जनाएको छ ।