कहिले काही फुटबाल खेलमा गोलरक्षकले ठूलै चुनौती लिएर ‘मर्ता क्या नै कर्ता’ भने जस्तो गर्दा आफ्नो टिमलाई विजयी बनाएको घटनाहरु पनि देखिन्छन् । राती भएको फुटबल खेलमा यस्तै परिदृष्य देखियो । गोलरक्षक एलिसनले इन्जुरी समयमा हेडमार्फत उत्कृष्ट गोल गर्दै आफ्नो टिम लिभरपुललाई शीर्ष चारमा अटाउने सम्भावना जीवित राखेका छन् । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले वेष्ट ब्रोममाथि रोमाञ्चक जित निकाल्दै २–१ गोलले पछि पार्दैै जित दर्ता गरेको छ ।

घरेलुस्थित अवे मैदानमा भएको खेलमा वेष्ट ब्रोमलाई १५ औं मिनेटमा रोब्सन कानुले गोल गरी सुरुवाति अग्रता दिलाएका थिए । तर त्यसको १८ मिनेट पछि लिभरपुलका लागि मोहम्मद सालहले ३३ औं मिनेटमा बराबरी गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काए ।

खेल सकिन केही सेकेण्डमात्र बाँकी रहेको इन्जुरी समयमा लिभरपुलका गोलरक्षक एलिसनले विपक्षीको पोष्टमा पुगेर हेडमार्फत् गोल गर्दै आफ्नो टिमलाई जित दिलाए । हेडमा मार्फत् गोल गरेर टिमलाई जित दिलाएका एलिसनले आफ्ना पितालाई भावनात्मक ट्रीब्युट दिए । गोलकिपर एलिसनले दिलाएको यो जितसंगै पाँचौं स्थानको लिभरपुलको दुई खेल बाँकी हुँदा ६३ अङ्क भएको छ । चांैथो स्थानमा रहेको चेल्सीको ६४ अङ्क नै रहेको छ ।

लिभरपुलको १ सय २९ वर्षको इतिहासमा कुनै पनि गोलरक्षकले महत्वपूर्ण प्रतिस्पर्धात्मक खेलमा गोल गरेका थिएनन् । एलिसनको गोलले टिमलाई जित दिलाएर च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना जीवित राख्यो । एलिसन प्रिमियर लिगमा गोल गर्ने छैटौं गोलरक्षक बनेका छन् भने हेडमार्फत् गोल गर्ने पहिलो गोलरक्षक पनि हुन् ।
खेल लगत्तैको अन्तर्वार्तामा एलिसनले आफ्ना पितालाई सम्झिँदै भने, ‘आश छ कि उहाँ यहिँ हुनुहुन्थ्यो मेरो खेल हेर्नका लागि, उहाँले यो क्षण भगवानको साथमा सेलिब्रेट गरिरहनु भएको छ भन्ने विश्वासमा छु ।’