काठमाडौं– पहिलो नेपाल सुपर लिग–एनएसएल फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको छ । भरखरमात्र सकिएको उक्त प्रतियोगितामा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १–० गोलले पछि पार्दै जित निकालेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भरखरैमात्र सकिएको खेलमा काठमाडौंका लागि विदेशी क्यामरुनी विदेशी खेलाडी मेसौके ओलाउमुलेले खेलको २२ औं मिनेटमा सान्दार गोल गरेर आफ्नो टिमको जितलाई सुनिश्चत् गरे । मेसौकेको यो गोल नै काठमाडौं रेजर्सका लागि पर्याप्त भयो । निकै प्रतिस्पर्धात्मक खेलमा धनगढीले पटक पटक गोलगर्ने नजिकको अवसर गुमाउनु पुगेको थियो । यो प्रतियोगिता धनगढीले काठमाडौंलाई दुई पटक पछारेको थियो । फाइनलमा काठमाडौंले धनगढीलाई हराएर ३५ लाख रुपैयाँ धनरासी हात पारेको छ । त्यसैगरी धनगढीले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उत्कृष्ट प्रशिक्षक बालगोपाल महर्जन, उत्कृष्ट किपरमा किरण चेम्जोङ, उत्कृष्ट फरर्वाड अन्जन विष्टलगायत विभिन्न उत्कृष्ठ खेलाडीहरुलाई नगद प्रदान गरिएको छ । फ्रेन्चाइजमा आधारित नेपालमा पहिलोपटक आयोजना भएको यस प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो ।