बेइजिङ – चीनले मङ्गल ग्रहमा पठाएको एउटा यानले राती अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ । राष्ट्रपति सी चिनफिङले चिनियाँ वैज्ञानिकहरुको सफलताका लागि शुभकामना दिएका छन् ।

चीनले पृथ्वीबाहेक कुनै ग्रह वा उपग्रहमा पहिलोपटक आफूले विकास गरेको यान अवतरण गराएको छ । सीएनएसएका प्रमुख झाङ केजियानले चिनियाँ अन्तरिक्ष नियन्त्रण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा मंगल खोज अभियान पूर्ण सफल भएको घोषणा गरेका थिए ।

रोबोट मङ्गल ग्रहको सतहमा अवतरण गरेको जानकारी प्राप्त हुनासाथ नियन्त्रणकक्षमा खुसी र उमंग छाएको थियो । उनले चीनको अन्तरिक्ष खोजका लागि यो एउटा अर्को महत्वपूर्ण कोसेढुङ्गा रहेको बताए ।

तियानवेन–१ नामको यानमार्फत पठाइएको झुरोङ मङ्गल ग्रहको दक्षिणी युटोपिया प्लानिटियामा अवतरण गरेको थियो । बेइजिङ समयानुसार बिहान ७ बजेर १८ मिनेटमा अवतरण गरेको नियन्त्रणकक्षले जनाएको छ । मङ्गल ग्रहमा अवतरण गरेपश्चात् उक्त रोबोटले विस्तारै सोलार प्यानल र एन्टेना खोलेको र त्यसपछि सिग्नल पठाउन थालेको थियो । पृथ्वीबाट मंगल ग्रहबीचको दूरी ३२ करोड किलोमिटर टाढा रहेकाले समय अन्तराल १७ मिनेट रहेको छ ।

तियानवेन–१ गत जुलाई २३, २०२० मा दक्षिणी चीनको हैनानबाट प्रक्षेपण गरिएको थियो । यसमा एउटा अर्बिटर, ल्यान्डर र रोभर (रोबोट) रहेको थियो । ६ पाङ्ग्रा भएको झुरोङ नामको यस रोबोटको तौल २० केजी छ र यसको आयु करिब तीन महिना हुने चिनियाँ वैज्ञानिकहरुले बताएका छन् ।

मङ्गल ग्रहमा यसअघि अमेरिकाले एउटा यान यसैवर्ष अवतरण गराएको थियो । विश्वमै चीन मंगल ग्रहमा यान पठाउने दोस्रो देश भएको छ । यसअघि, भारतले गरेको प्रयास अन्तिम समयमा असफल भएको थियो । रासस÷सिन्ह्वा