काठमाडौं – गृहमन्त्री तथा नवप्रवेशी एमाले नेता रामबहादुर थापा बादललाई जेठ ६ गते हुने राष्ट्रियसभा उप–चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा उक्त कुरामा सहमति भएको हो । एमालेको तर्फबाट गृहमन्त्री बादल उम्मेदवार हुनुहुन्छ । राप्रपाका अध्यक्ष कमल थापासँग गृहमन्त्री बादललाई जिताउनका निम्ति प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सहयोगको याचना गर्नु भएको थियो ।

यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिनुभएको छ । ‘औपचारिक निर्णय त भएको छैन । तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ’ राप्रपा नेताले भन्नुभयो ।

बागमती प्रदेशको तर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा र नेमकिपाले छुट्टै उम्मेदवार उम्मेदवार खडा गरेका छन् ।