कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८ सय ९० जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिड–१९ बाट मृत्यु भएकाको सङ्ख्या दुई लाख ६६ हजार २ सय ०७ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या दुई करोड ४३ लाख ७२ हजार पुगेको छ । जसमध्ये दुई करोड चार लाख ३२ हजार व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । भारतमा हाल ३६ लाख ७३ हजार व्यक्ति सक्रिय सङ्क्रमित अवस्थामा छन् ।

भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन । भारतमा सङ्क्रमित व्यक्तिको सङ्ख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कर्फ्यु लगाएका छन् । पछिल्लो समय कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।