काठमाडौं– आज काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे यी दुवै चिरपरिचित टिमबीच प्रतिस्पर्धा हुन लागेको हो ।
विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनपछि ललितपुर सिटी एफसीलाई ३–० ले पराजित गर्दै काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग एनएसएलको फाइनल प्रवेश गरेको थियो । यो जीतसँगै काठमाडौंले धनगढीसँग आज फाइनल भिड्न लागेको हो । पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग २–१ ले पराजित भएको थियो ।


राष्ट्रिय टिमका लागि पटक पटक सफल प्रशिक्षकको जिम्मेवारी प्रमाणित गरेका प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको काठमाडौं रेजर्सले लिग चरण र क्वालिफायरमा गरी दुवै पटक धनगढीसँग पराजय व्यहोरेको थियो । काठमाडौले पछिल्ला तीन खेलमा आफ्नो खेललाई निखार्दै लगातार जीत हात पारेर धनगढी एफसीसँगको फाइनल भिडन्त पक्का गरेको थियो । आजको फाइनल खेलमा काठमाडौं रेजर्स एफसीले धनगढी एफसीसँग बदला लिने दाउमा छ ।


यता धनगढी पनि एनएसएलको उपाधी जित्नका लागि आफ्नो सबै शक्ति प्रयोग गर्ने छ । राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङको कप्तानीमा रहेको धनगढीले प्रतियोगितामा १० अङ्क जोडेको थियो राष्ट्रिय टिमकै दोस्रो रोजाइका गोल किपर विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं रेजर्स एफसी ले १३ अङ्क जोडेकोे थियो ।


अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज फुटबल एनएसएलको फाइनल खेल आज हुन लागेको हो । विजेताले नगद ३५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।