विरेन्द्रनगर– सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले अक्सिजन अभावका कारण कोरोना भाइरसबाट सङ्क्रमित भएका नयाँ थप बिरामी भर्ना नलिने भएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

कर्णाली प्रदेशका लागि नेपालगञ्जबाट अक्सिजनको आपूर्ति भैरहेकोमा त्यहाँबाट अक्सिजन आउन छाडेकोले कोरोना भाइरसबाट सङ्क्रमित नयाँ बिरामीलाई भर्ना लिन नसक्ने प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताउनु भएको छ । निर्देशक डा. खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालगञ्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड–१९ को सङ्क्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ ।’

निर्देशक डा. खड्काका अनुसार अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन । अहिले करिब १ सय सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । तर, अस्पताललाई यतिबेला दैनिक ३ सय भन्दा बढी अक्सिजन सिलिण्डरको आवश्यक रहेको छ ।

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामीहरुलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन सिलिन्डर आवश्यक रहेको निर्देशक खड्काले बताए । ‘अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि हाइफ्लो अक्सिजन दिन सक्दैन, नेपालगञ्जबाट अक्सिजन आउन छाडेको छ, जस्ले गर्दा यो स्थिति आयो,’ डा. खड्काले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । हाल उक्त अस्पतालमा जीवन–मरणसँग सङ्घर्ष गरिरहेका ९२ जना कोरोना भाइरसबाट सङ्क्रमित बिरामी रहेको उक्त अस्पतालले जनाएको छ ।