विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरस विरुद्धको खोप दिने योजना तत्कालका लागि रोकेर गरिब मुलुकहरुलाई सहयोग आग्रह गरेको छ । कोरोना भाइसरको सङ्क्रमणबाट विशेषगरी गरिब राष्ट्रहरुको सहयोगका लागि डब्लुएचओले धनी राष्ट्रहरुसँग सहयोगको याचना गरेको हो ।
गरिब देशहरुमा अति जोखिममा रहेका वर्गहरुले नै खोप नपाएको अवस्थामा कोभिडको महामारीलाई नियन्त्रणमा लिनका लागि धनी राष्ट्रहरुले सहयोग स्वरुप खोप उपलब्ध गराउनु पर्ने डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताउनु भएको छ । खोपको समानुपातिक पहुँचका लागि थालिएको कोभ्याक्स अभियानमा धनी देशहरुले खोपको थप मात्रा प्रदान गर्नु पर्ने डा. टेडरोजले जोड दिनुभएको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरस विरुद्धको खोपको वितरण गम्भीर रुपमा असमान रहँदै आएको छ । धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप लगाउने तयारी गरेका छन् । तर गरिब देशहरुमा भने अग्रपंक्तिमा खटिएका तथा अति जोखिमको वर्गमा रहेकाहरुले नै खोप लगाउन नपाउँदा विकराल समस्या भएको डब्लुएचओको भनाइ छ । सन् २०२० को डिसेम्बरदेखि खोप लगाउन थालिएयता विश्वमा उत्पादन भएका खोपहरु अधिक मात्रामा धनी देशहरुले खरिद गरेका छन् ।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले भने आफ्नो देशका १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई जति सक्दो छिटो खोप लगाउने योजना बनाएका छन् । अमेरिकाले आउँदो जुलाई ४ सम्म कम्तिमा ७० प्रतिशत जनसङ्ख्यालाई खोपको कम्तिमा एक मात्रा लगाउने लक्ष्य लिएको छ । त्यसैगी क्यानडाले पनि १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीले पनि फाइजरको खोप लगाउन स्वीकृत गरेको छ ।