रासस
काठमाडौं – नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वान अनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था (गैसस) हरूले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् । जर्मन­नेपाल मैत्री सङ्घको संयोजनमा एनजिओ फोरम नेपालले आज आयोजना गरेको वेबिनारमा सहभागी झण्डै ६० वटा गैससले मानवीय सहयोगअन्र्तगत नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराउने निर्णय गरेका हुन् । कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले कोरोनाको बढ्दो सङ्क्रमणका कारण अस्पताललगायत स्वास्थ्य संस्थामा आवश्यक पीसीआर परीक्षण सामग्री, एन्टिजेन सामग्री, भ्यान्टिलेटर, आइसियू शैया, पोर्टेबल डिजिटल एक्स रे, थर्मल गन, अक्सिनेटर, पिपिईलगायत उपकरण र सामग्री अभाव हुँदा उपचारमा समस्या आएको बताएका छन् ।
उनले यस्तो विपद्को अवस्थामा आवश्यक सहयोग गरिदिन नेपाल सरकारले सबै मित्र राष्ट्र तथा दातृसंस्थाहरूसँग आग्रह गरेको उल्लेख गर्दै जर्मनीमा कार्यरत संस्थाहरूबाट पनि विगतमा जस्तै यसपटक पनि सहयोग रहने विश्वास व्यक्त गरे । राजदूत खड्काले जर्मनीबाट उपलब्ध हुने सहयोगलाई नेपाल सरकारले विमानस्थलमा आवश्यक समन्वय गर्ने र सम्बन्धित निकायलाई उपलब्ध गराइने जानकारी दिए । सो अवसरमा नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले नेपालमा हाल कोरोनाको सङ्क्रमण व्यापक फैलिएकाले अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्री अभावका कारण धेरैले ज्यान गुमाउनुपरेको अवस्थाबारे अवगत गराएका थिए। उनले जर्मनी नेपालको एक असल मित्रराष्ट्र भएकाले यस विषम समयमा पनि विगतमा जस्तै गैरसरकारी संस्थाहरूले एकमुष्ट सहयोग उपलब्ध गराउन आवश्यक रहेको बताए । राजदूत सेफरले नेपालको अर्थतन्त्रमा कुनै असर नहुने गरी हप्तामा एक–दुईवटा उडानको प्रबन्ध मलाउन आग्रह गरे ।
मैत्री संघका अध्यक्ष तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत रामप्रताप थापाले नेपालमा उत्पन्न स्वास्थ्य समस्याका कारण सिर्जित विकराल अवस्थामा नेपालमा सहयोग गर्दै आएका जर्मनीका गैससबीच समन्वय गरी आवश्यक सहयोग जुटाउन वेबिनार आयोजना गरिएको जानकारी दिए । गैरआवासीय नेपाली संघ (एनआरएन) फाउन्डेसनका अध्यक्ष जीवा लामिछानेले एनआरएनले विश्वभरि रहेका आफ्ना च्याप्टरमार्फत सहयोगको आह्वान गरिसकिएको र चीन, ओमानलगायत केही देशबाट स्वास्थ्य उपकरण ल्याइएको उल्लेख गरे । कार्यक्रममा सहभागी विभिन्न गैससका प्रतिनिधिले कोरोनाका बिरामीको उपचारमा आवश्यक सामग्री एकमुष्ट उपलब्ध गराउन आफूहरू तयार रहेको र ती सामग्री पठाउन हवाई उडानको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । कतिपयले यसअघि नै व्यक्तिगत र संस्थागत रूपमा पनि नेपालका केही स्वास्थ्य संस्थालाई सहयोग गरिसकेको जानकारी दिएका थिए ।