नयाँ दिल्ली –कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि सङ्क्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार व्यक्तिको ज्यान गुमाएको जनाएको छ । मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार व्यक्ति सङ्क्रमित भएका छन् भने ३ लाख ४४ हजार व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । भारतमा गत बुधबार एकै दिन ४ हजार २ सय ५ जनाको कोभिड सङ्क्रमणबाट ज्यान गएको थियो । बिहीबार पनि ४ हजार १ सय २० जनाको मृत्यु भएको थियो । भारतमा कोरोनाभाइरस सङ्क्रमणबाट हालसम्म २ लाख ६२ हजार ३ सय १७ जनाको मृत्यु भइसकेको छ ।
भारत विश्वमै तेस्रो सर्वाधिक प्रभावित मुलुक हो । पहिलो सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म पाँच लाख ९८ हजार तथा दोस्रो सर्वाधिक असर परेको मुलुक ब्राजिलमा चार लाख ३० हजारको मृत्यु भइसकेको छ । भारतमा कोरोनाभाइरस महामारी शुरु भएयता कूल सङ्क्रमित २ करोड ४० लाखमध्ये २ करोड ७९ हजार व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा हाल ३७ लाख व्यक्ति सक्रिय सङ्क्रमित छन् । गत जनवरीबाट खोप अभियान शुरु गरेको भारतमा हालसम्म १७ करोड ९३ लाख व्यक्तिलाई खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतभर ३१ करोड १३ लाख कोभिड नमुना परीक्षण गरिएको छ । – एजेन्सी