काठमाडौं – साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १० दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय ८४ अङ्कमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रै सुधार देखिएको छ । दिनभर भएका ८६ हजार २ सय ९६ कारोबारबाट २ करोड १९ लाख ५५ हजार ९ सय ४३ सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रुपैयाँ कारोबार रकम पुगेको छ ।
समग्रमा परिसूचक बढे पनि व्यापार, होटल तथा पर्यटन, उत्पादन मूलक लगायतका समूहका सवइन्डेक्स घटेका छन् । व्यापार समूह २३ दशमलव ८६ अङ्कले घटेको छ भने होटल तथा पर्यटन १९ दशमलव ३५ अङ्कले घटेका छन् । आज सबैभन्दा धेरै फाइनान्स समूहमा आकर्षण देखिएको छ । यो समूहको सेयर मूल्य ४ दशमलव ६८ प्रतिशत अर्थात ६० दशमलव २४ अङ्कले बढेको छ । विकास बैंक समूह पनि ७१ दशमलव १९ अङ्कले बढेको छ । बुधबार धेरै कमाउनेमा समता घरले लघुवित्त देखिएको छ भने धेरै गुमाउनेमा रिढी हाइड्रोपावर देखिएको छ ।