काठमाडौं – कोभिड १९ सङ्क्रमणको दोस्रोे लहरसँगै लक्षणसहितका सङ्क्रमितहरुको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बिहिबारदेखि पिसिआरका लागि स्वाव सङ्कलन सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले कन्ट्रयाक्ट टे«सिङमा परेका र लक्षण देखिएकाहरुलाई निशुल्क पिसिआर परीक्षण गर्नका लागि स्वाव सङ्कलन गर्ने गरेको थियो । कोरोना भाइरसको सङ्क्रमणमा कमि आएपछि महानगरले ५ वटा केन्द्र तोकेर व्यवस्थापन गरेको थियो । तर केन्द्र नपरेको स्थानमा पनि आवश्यकताका आधारमा पिसिआरका लागि स्वाव सङ्कलनको व्यवस्था मिलाउँदै आएको महानगरले आफ्ना स्वास्थ्यकर्मी लगायत त्यस कार्यमा जुट्ने कर्मचारीहरुमा कोभिड सङ्क्रमण देखिएपछि केही समय स्वाव सङ्कलनको कामलाई स्थगत गरेको थियो ।
 नयाँ भेरियन्ट सहितको दोस्रो लहरमा लक्षण सहितका सङ्क्रमितको संख्या अत्याधिक वृद्धि भएको र जटिल किसिमका लक्षण पनि देखिन थालेपछि महानगरले जनशक्ति थप गरेर भएपनि पिसिआरका लागि स्वाव सङ्कलन कार्यलाई पुनः सञ्चालनमा ल्याएको महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरि बहादुर कुँवरले जानकारी दिनु भएको छ । काठमाडौं महानगरले सबै नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै बढी भीडभाड हुने तरकारी, फलफुल पसल लगायतका स्थानमा माइकिङ गरेर सचेतना कार्यक्रम सुरु गरेको छ । 
त्यसैगरी वडा– वडामा पनि सचेतना फैलाउनुको साथै सङ्क्रमित भएर घरमै बसेका बिरामीहरुको व्यवस्थापन, सहयोग र उपचारका लागि सचेतना टिम गठन गरेर ३२ वटै वडाले काम गर्ने गरि सचेतना टिम घोषणा गरिएको पनि महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरि बहादुर कुँवरले जानकारी दिनु भएको छ । महानगरले विषम परिस्थितिमा कोही पनि भोकै बस्नु नपरोस् भनी वडाहरुलाई समन्वय गरेर काम गरिरहेको  र विपन्न परिवारलाई खाद्यान्नको व्यवस्था गर्ने नीति का साथ अघि बढेको जनस्वास्थ्य प्रमुख कुँवरले जानकारी दिनु भएको छ ।