कोभिड खोप ‘अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर’ मिश्रणको नकारात्मक प्रभाव बढि भएको सार्वजनिक
विश्वभर कोरोना भाइरसको सङक्रमण बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ताको विषय भैरहेको छ । यसैबेला विभिन्न अध्ययन र अनुसन्धान पश्चात कोरोना भाइरस नियन्त्रणका लागि आविश्कार गरिएका अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर खोपको मात्रा मिसाएर दिँदा त्यसको असर के हुन्छ भनेर गरिएको अध्ययनमा सुक्ष्म तथा मध्यम तहका नकारात्मक प्रभावको घटना बढि हुने एक अध्ययनले देखाएको छ ।

अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर खोपको मात्रा मिसाएर दिंदा टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने जस्ता विभिन्न नकारात्मक असरहरु धेरै देखिएका हुन् । ती सबै नकारात्मक असरहरु अल्पकालीन रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक अरु कुनै पनि सुरक्षा सम्बन्धी खतरा भने नदेखिएको प्रतिवेदनमा जनाइएको छ । अक्सफोर्डको खोप समूहका अध्येता तथा प्राध्यापक म्याथ्यू स्नापले भनेका छन्, ‘यो अति चाखलाग्दो निष्कर्ष हो, जसको अपेक्षा हामीले गरेका थिएनौं ।’

गत फेब्रुवरीमा ‘द कम–कोभ’ अध्ययन सुरु गरिएको थियो । यो अध्ययनको क्रममा मुख्यत खोपको पहिलो मात्रा एउटा र अर्को खोपको दोस्रो मात्रा दिँदा हुने असर वा प्रभाव हेरिएको थियो । क्यानडाका दुई राज्य अनतारिओ र क्वेबेकले निकट भविष्यमा दुई खोपका मात्राहरु मिसाएर दिने योजना बनाएको बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा भएको अध्ययनमा ५० वर्षमाथिका ८ सय ३० जना सहभागी भएका थिए । त्यसमा गम्भीर साइड इफेक्ट नदेखिए पनि तुलनात्मक रुपमा सुक्ष्म तथा मध्यमखालका साइड इफेक्ट भने एउटै खोपको दुई मात्रा लगाउनेमा भन्दा बढि देखिएको हो । अध्ययनको पूर्ण प्रतिवेदन चाँडै सार्वजनिक हुने भन्दै अध्ययनको प्रारम्भिक प्रतिवेदन ‘द लान्सेट’ मा प्रकाशित भएको छ ।