काठमाडौं – देशमा वर्षेनी व्यापार घाटा चुलिंदै गएको छ । चालु आ.व.२०७७÷०७८ को नौ महिनाको तथ्याङ्कको आधारमा देशको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले चैत मसान्तमा चालु खाता घाटा २ खर्ब ७ अर्ब ४१ करोड रुपैयाँ पुगेको जनाएको छ । गत आ.व.(२०७६÷०७७) को सोही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोड रुपैयाँ घाटामा रहेको थियो ।
सरकारले कोरोना भाइरसको सङ्क्रमणको निषेधाज्ञा जारी गर्नुभन्दा अगाडिसम्म निरन्तर बढिरहेको आयातले देशकै अर्थतन्त्रको बाह्य सूचकमा समेत दबाब बढ्दै गएको छ । यो समयमा देशमा रेमिट्यान्समा वृद्धि भएता पनि मासिक रुपमा १ खर्ब २५ अर्ब रुपैयाँको आयात भएको र घाटा पनि बढ्दै जाँदा सोधनान्तर बचतमा पनि दबाब बढेको छ । अमेरिकी डलरमा गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १० करोड रुपैयाँ ले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ७७ करोड रुपैयाँले घाटामा रहेको छ । थप ६७ करोड रुपैयाँ घाटा वृद्धि भएको छ ।
गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६.५ प्रतिशतले रेमिट्यान्स बढे पनि रेमिट्यान्ससँगै आयात पनि १३.१ प्रतिशतले वृद्धि हुन पुगेको छ । जसले गर्दा व्यापार घाटा चुलिँदै गएको छ । समीक्षा अवधिमा निर्यात पनि २० प्रतिशतले बढे पनि आयातको तुलनामा निर्यात धेरै नै न्यून रहेको छ । घाटा चुलिँदै जाँदा सोधनान्तर स्थिति (भुक्तानी सन्तुलन)मा पनि दबाब बढ्दै गएको छ । चैत मसान्तसम्ममा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ । फागुन मसान्तमा ६८ अर्ब रुपैयाँले बचतमा रहेको सोधनान्तर स्थिति एक महिनामा नै करिब साढे २५ अर्ब रुपैयाँले घटेको छ । यद्यपि, गत आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड रुपैयाँ ले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति ३४ करोड ८१ लाखले बचतमा रहेको छ ।
यसै अवधिमा १०.७ प्रतिशतले पुँजीगत ट्रान्सफर वृद्धि भइ १२ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी घटेर १२ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ । सोधनान्तर बचतमा मात्रै नभएर विदेशी विनिमय सञ्चितिमा पनि दबाब पर्ने देखिएकोे छ । असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढे पनि पछिल्लो केही महिनायता लगातार घटेको छ । आयात निरन्तर रुपमा बढ्दा सञ्चित रहेको विदेशी मुद्रा बाहिरिने क्रम बढेको तर रेमिट्यान्स बढे पनि अन्य विदेशी मुद्रा आर्जन गर्ने स्रोत कम हुँदा विनियमय सञ्चिति घट्न लागेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष (२०७७) असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैत २.२ प्रतिशतले वृद्धि भइ ०७७ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । यद्यपि, फागुनमा १४ खर्ब ३६ अर्ब रुपैयाँ रहेकोमा सामान्य घटेको छ । कोरोना भाइरस नियन्त्रणमा सरकारले बाह्य सहायता पाइरहेकोले आयात उच्च हुँदा पनि विदेशी विनिमय सञ्चितिमा ठूलो दबाब भने देखिँदैन । अमेरिकी डलरमा पनि विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा २०७७ चैत मसान्तमा २.७ प्रतिशतले वृद्धि भइ ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.९ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।