काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा आप्रवाह (रेमिट्यान्स) ७ खर्ब २९ अर्ब माथि पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार ९ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै बैंकले विदेशी मुद्रा आप्रवाह रेमिट्यान्स १६ दशमलव ५ प्रतिशतले वृद्धि हुँदै ७ खर्ब २९ अर्ब २ करोड पुगेको जनाएको हो । जबकी गत वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ४ दशमलव २ प्रतिशतले घट्न पुगेको थियो । 
राष्ट्र बैंकका अनुसार ९ महिनामा अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । सो अवसरमा बैंकले समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६६ दशमलव ७ प्रतिशतले घटेको जनाएको छ भने, अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलव २ प्रतिशले बढेको थियो ।