तनहुँ– व्यास नगरपालिका फोहोर व्यवस्थापनमा सफलताको सिंढी चड्दैछ । नगरपालिकाले मानव मलमुत्र र कुहिने फोहोरलाई सङ्कलन गरेर वडा नं. १० को दुम्सी भतेरी भन्ने स्थानमा बायोग्याँसबाट बत्ति उत्पादन सुरु गरेको छ । यसको साथै बायोग्याँसबाट उत्पादन पछि निस्किएको प्राङ्गारिक मलको प्रयोग कस्तो हुन्छ भनेर उक्त मललाई घाँस उत्पादनमा प्रयोग गर्न लागिएको बताउनुहुन्छ, – व्यास १० का वडाध्यक्ष तुलसीराम सापकोटा ।
नगरपालिकाले नगरक्षेत्रबाट दैनिक रुपमा सङ्ककलन गरिएको फोहोरलाई तीनभागमा वर्गीकरण गर्दै आएको छ । ‘नगर क्षेत्रबाट सङ्कलन गरिएको कुहिने फोहोर, पुन प्रयोगमा ल्याउन सकिने फोहोर र अस्पतालजन्य फोहोर गरी दिन किसिमले वर्गीकरण गरेको व्यवस्थापन गर्दै आएको छौं भन्नुहुन्छ वडाध्यक्ष सापकोटा । नगरपालिकाले नगरक्षेत्रमा छाडा छोडीएका रोगी र वृद्ध गाईहरुलाई व्यवस्थापन गर्न दुम्सी भतेरीको २ सय रोपनीमा गौ संरक्षण केन्द्र स्थापना गरेको छ । त्यहाँ उत्पादनभएको गाईको गोवर, नगरपालिकाबाट सङ्कलित कुहिने फोहोर र सेफ्टिट्याक्टबाट निस्किएको मानव मलमुत्रलाई एकैठाउँमा व्यवस्थापन गरेर बायोग्याँस उत्पादनको काम सुरु गरेको हो । उक्त गौ संरक्षण केन्द्रमा अहिले ५५ वटा गाई रहेको छन् ।
वडाध्यक्ष सापकोटाले नवसञ्चार अनलाइनलाई बताउनु भए अनुसार व्यास नगरपालिकाको ५० प्रतिशत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत गरी रु. १४ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त बायोग्याँस प्लान्टबाट उत्पादन भएको बिजुली यतिबेला गाई संरक्षण केन्द्र र त्यहाँस्थित कृषि सहकारी फर्मले प्रयोग गरेको छ । निकट भविष्यमै बायोग्याँस उत्पादनको क्षमता बृद्धिगरी सोही क्षेत्रका विपन्न वर्गलाई विजुली वितरण गर्ने नगरपालिकाको योजना रहेको छ ।