रासस
काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन् । त्यस्तै, पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ । कोरोना संक्रमणबाट मङ्गलबार राति नेता चौलगाईंको निधन भएको थियो ।

नेकपा (एमाले) पोलिटब्युरो सदस्य रहेका चौलागाईं दोलखा ‘ख’बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलगाईं वि.सं. २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए । त्यस्तै, २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद भएका थिए । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलगाईं निष्ठावान् र इमानदार नेता थिए । उनको निधनले दोलखाका साथै सिंगो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए ।