तनहुँ– तनहुँ जिल्लाको आँबुखैरेनीमा एउटा पराल बोकेको ट्रक मस्र्याङ्दी नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजनाको सनाखत भैसकेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बाग्लुङ जिल्लास्थित गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनी तर्फ आउँदै गरेको ना ३ ख ९९७३ नं को ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खसेको थियो ।
रातिको समयमा दुर्घटना भए पनि प्रहरीलाई आज बिहानमात्र जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताउनु भएको छ । मृतक जय कँडेल चालक र मीन कँडेल सहचालक रहेको दुवैजना एकैघरका दाजुभाइ भएको प्रहरीले जनाएको छ । पराल बोकेको उक्त ट्रक चितवनबाट पोखरातर्फ गैरहको थियो ।