काठमाडौं – गायक प्रकाश सपुतको गत वैशाख १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी)मा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।उनी आज सङ्क्रमण मुक्त भएका छन् । लोक दोहोरी क्षेत्रका चर्चित गायक सपूतले आज मङ्गलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु कोरोना सङ्क्रमण मुक्त भएको जानकारी दिएका छन् । कोरोना सङ्क्रमणबाट मुक्त भएपछि उनले लेखेका छन–‘नाता र भावनाले जोडिएका आफन्त इष्टमित्र एवम् कलाकारिता मार्फत जोडिनु भएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ ।’
उनले अगाडि लेखेका छन– ‘विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबैलाई धेरै धेरै धन्यवाद । कोरोना जित्न सकिन्छ । यो आत्मविश्वास बाँड्न चाहन्छौ ।’ सपुतले आफ्नो आमा भने अझै कोरोनासँग जुधिरहेको समेत बताएका छन् । उनले अगाडि भनेका छन्, ‘आमाले पनि कोरोना जित्नुहुनेछ । आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ । भावनात्मक हिसाबले यो तस्विर निकै पीडादायी छ । सतर्कता अपनाएर सङ्क्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौं !’