रौतहट – रौतहटको गौर अस्पताल भवनको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन छ । हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्यः कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आईसीयू र भेन्टिलेटर प्रयोगविहीन भएका छन् । गौर अस्पताल भवन पछाडिपट्टिको अर्को भवनलाई अस्थायी कोभिड वार्ड बनाइएको छ । गौर अस्पतालकै चिकित्सकहरु ड्यूटी मिलाएर कोभिडवार्डमा खटिएका छन् ।
यो अस्थायी अस्पतालमा विगत ३ दिनमा ६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । कोभिड अस्पतालमा अक्सिजन बाहेक अन्य कुनै उपचार नपाउँदा बिरामीले ज्यान गुमाउन थालेको स्थानीयको गुनासो छ । गौर अस्पतालका निमित्त प्रमुख डा. कृष्ण साहले आईसीयू र भेन्टिलेटरका लागि जनशक्ति माग गरे पनि पाउन नसकेको बताउनु भएको छ । कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा एनेस्थेसिया, पारामेडिक्स, फिजिसयनको अभावमा आईसीयू र भेन्टिलेटर सेवा दिन नसकेको डा. साह बताउनु हुन्छ ।
पीसीआर ल्याबमा पनि कर्मचारी अभाव रहेको उहाँले बताउनुभयो । ‘गौर अस्पतालको पीसीआर ल्याबमा १४ जना कर्मचारी हुनुपर्नेमा ५ जना कर्मचारीले सेवा दिइरहेका छन’ डा. साहले थप्नुभयो, ‘प्रदेशलाई हामीले मेडिकल अफिसर, पारामेडिक्स लगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको छ ।’सोही अनुसार आइतबार पत्रिकामा सूचना जारी गरेर आवश्यक कर्मचारी माग गरेको उहाँले बताउनु भएको छ । पाँच दिनभित्र एमडीजिपी, एनेस्थेसिया, पारामेडिक्स र फिजियसन तथा नर्सिङ स्टाफ भर्ना गर्ने उनले बताए । कर्मचारी अभावमा अस्पताल र कोभिड वार्ड दुवै सञ्चालन गर्न गाह्रो भएको जानकारी गराउनु भएको छ ।