काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणका कारण नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका भाइबुहारीको मृत्यु भएको छ । समयमै उपचार पाउन नसकेपछि भाइबुहारी निर्मला बैद्यको मृत्यु भएको श्रेष्ठले बताउनु भएको छ । सुरुमा इमरजेन्सी र पछि अक्सिजनसहितको बेड नपाएपछि बुहारीलाई बचाउन नसकेको दुखेसो उहाँले सामाजिक सञ्जालमार्फत पोख्नु भएको छ ।
‘प्रिय बुहारी निर्मला बैद्यको कोभिडका कारण आज भएको दुखःद निधनबाट मर्माहत भएको छु । केही दिन देखि नै अस्पतालहरुको ढोका ढक्ढक्याउदा सुरुमा इमर्जेन्सी र अक्सिजनसहितको बेड समेत पाइएन ,आइसियु र भेन्टिलेटर त परको कुरा । पछि एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरेर आइसियु खोज्न लाग्यौँ । केही दिन पछि हिजो मात्र बल्ल ट्रमा सेन्टरको आइसियुमा राख्न सक्यौँ । तर तिमिलाई बचाउन सकिएन बुहारी हार्दिक श्रध्दाञ्जली!’, श्रेष्ठले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गर्नु भएको छ ।
श्रेष्ठले आफ्नी बुहारी निर्मला त अहिलेको हाम्रो हालत को एक दृष्टान्त मात्र रहेको बताउँदै भन्नु भएको छ, ‘यसरी नै समयमा उपचार पाउन नसकेर कैयौँको दिनदिनै ज्यान गैरहेको छ । म आफैले पनि अरु धेरै कोभिड सङ्क्रमितहरुको लागि बेड र आइसियु खोजेको छु ,तर पाइराखेको छैन । महामारीको बेलामा स्वास्थ्य क्षेत्रको यो अव्यवस्था र बेवास्ता क्षम्य हुन सक्दैन ।’