विराटनगर –प्रदेश १ मा कोरोनाको दोश्रो लहर सुरु भए यता १ सय ६ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् । गएको वैशाख १ देखि हालसम्म उनीहरुको विभिन्न कोभिड अस्पताल एव होम आइसोलेसनमा मृत्यु भएको हो । पछिल्लो एक सातायता प्रदेशमा दैनिक ८ जना सङ्क्रमितले ज्यान गुमाउँदै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोभिड अस्पतालहरूका अनुसार पनि वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको छ । बिराट मेडिकल कलेजका निर्देशन डा ज्ञानेन्द्रमान सिंह कार्कीले अस्पताल भर्ना भएका बिरामीलाई बचाउन कठिन हुँदै जादा सङ्क्रमितको मृत्युदर उच्च भएको जानकारी दिनुभएको छ ।
मन्त्रालयको अभिलेख अनुसार सोमबार मात्रै प्रदेश १ मा ११ जना सङ्क्रमितको विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बेलुकादेखि मंगलबार बिहानमात्रै प्रदेश १ का विभिन्न अस्पतालहरुमा थप १२ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि बैशाख ३ मा पहिलो  एक जनाको मृत्यु भएको थियो । बैशाख २१ यता दैनिक मृत्युदर ८ जना रहेको छ । प्रदेश १ मा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ सय ७७ रहेको छ । जसमध्ये प्रदेश १ मै स्थायी ठेगाना भएका मृतकको संख्या ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।