काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । कोभिड बिरामीको भर्ना मात्रै लिदैँ आएको सरुवारोग अस्पतालले किट अभावमा पीसीआर परीक्षण रोक्न बाध्य भएको जनाएको छ । पीसीआरको लागि किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिनुभएको छ । ‘किट ल्याउनका लागि तत्काल प्लेन बन्द हुँदा समस्या भयो, उहाँले भने अनुसार अबको चार÷पाँच दिनपछि किट आउँछ होला ।’किट नभएका कारण तत्काल पीसीआर परीक्षण बन्द गर्न बाध्य भएको उनले बताए । किट आइसकेपछि कोरोना परीक्षण सुरु गर्ने अस्पतालले जनाएको छ । 
 यस्तै, अस्पतालले विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ । ‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ,’ अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ ।