विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्टलाई ‘विश्वव्यापी चासोको भेरियन्ट’ का रुपमा सूचिकृत गरेको छ । डब्लुएचओले भारतीय भेरियन्ट (बी १६१७) को कोरोना भाइरस अरु भेरियन्टहरुभन्दा तीव्र गतिमा फैलिने प्रारम्भिक अनुसन्धानहरुमा देखिएको र थप अध्ययनको खाँचो रहेको जनाएको छ । भारत सरकारले हालै मात्र कोरोना भाइरसको बी १६१७ भेरियन्ट पछिल्लो पटक सङ्क्रमण गम्भीर बन्नुमा कारक रहेको हुन सक्ने स्वीकार गरेको थियोे ।
डब्लुएचओले कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वका ३० भन्दा बढी देशमा फैलिइसकेको बताएको छ । बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएका कोरोना भाइरसका म्युटेन्ट भेरियन्टहरुलाई डब्लुएचओले यसअघि नै ‘विश्वव्यापी चासोको भेरियन्ट’ सूचिमा राखेको थियो । अहिले भारत विश्वव्यापी कोरोना भाइरसको महामारीको केन्द्रविन्दु बनेको छ । भारतमा दैनिक चार लाखको हाराहारीमा नयाँ सङ्क्रमितहरु थपिने गरेका छन् । यस्तै कोभिड–१९ बाट झण्डै चार हजार मानिसको दैनिक मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।
तर विज्ञहरु सङ्क्रमित र मृत्यु हुनेको वास्तविक संख्या भारतले लुकाएको हुनसक्ने बताएका छन् । भारतमा अहिलेसम्म कुल जनसंख्याको २.५ प्रतिशतले मात्रै खोपको पूर्ण मात्रा लगाएका छन् । भारतले भने कोरोना भाइरस महामारीको दोस्रो लहरमा केही कमी आएको भनेको छ । पहिले अमेरिका, ब्राजिलमा जसरी फैलिएको थियो, अहिले धेरै नियन्त्रणमा आएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले जनाए अनुसार पछिल्लो समय संयुक्त राज्य अमेरिका र युरोपमा कोरोना भाइरस विरुद्धको खोप व्यापक रुपमा लगाउन थालेपछि कोरोना भाइरस सङ्क्रमणको प्रभाव र सङ्क्रमितको सङ्ख्यामा निकै कमी आएको छ ।