रासस
काभ्रे – कोरोना सङ्क्रमणबाट मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेसनमै मृत्यु भएको छ । होम आइसोलेसनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी) ले जनाएको छ ।
केन्द्रका अनुसार होम आइसोलेसनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातले खेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् । शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भए यता होम आइसोलेशनमा मृत्यु भएको यो पहिलो घटना हो ।