रासस
काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताए । यसअघि गत वर्ष पनि सङ्क्रमणको महामारी चलेका बेला ट्रमा सेन्टरले कोभिड–१९ का बिरामीलाई मात्र उपचार गरेको थियो ।
अहिले ५० शैयामा सङ्क्रमितको उपचार गरिएको ट्रमा सेन्टर बुधबारसम्ममा पूर्ण रुपमा कोभिड डेडिकेटेड अस्पतालको रुपमा सञ्चालन हुने छ । उनले सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यन्त्र सारेर पूर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइने जानकारी दिए । ट्रमा सेन्टरमा १० सघन उपचार कक्ष र २ सय शैया छन् । उनले थप आईसियु र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने बताए । अहिले सेन्टरमा ७० सङ्क्रमितको उपचार भइरहेको छ ।