काठमाडौं – बाँकेमा कोभिड–१९ नयाँ भेरियन्टको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार राति र सोमबार बिहान गरी थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । उनका अनुसार बर्दियाका दुई जना र बाँकेका एकजनाको मृत्यु भएको हो । बर्दियाको गुलरिया नगरपालिका–७ का ४६ वर्षीया महिलाको भेरी अस्पतालमा आइतबार राति १० बजे र बासगढी नगरपालिका–८ का ६८ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार राति ११ः५० बजे मृत्यु भएको उनले बताए । 
 ४६ वर्षीया महिलामा वैशाख २३ गते सङ्क्रमण पुष्टि भएको थियो भने ६८ वर्षीय पुरुषमा वैशाख २२ गते सङ्क्रमण पुष्टि भएको थियो । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१९ का ५१ वर्षीय पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ७ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख १७ गते सङ्क्रमण पुष्टि भएको थियो ।